–अन्जनी कुमार अधिकारी
उदयपुर । नेपाली राजनीतिमा निरन्तर संघर्ष, संगठन निर्माण र जनसेवामा समर्पित एक स्थापित नाम हो— दुर्गा कुमार थापा (स्वस्ती) । बेलका नगरपालिका वडा नम्बर–८, उदयपुरका स्थायी बासिन्दा थापा हाल नेकपा (एमाले)का अनुभवी तथा भरोसायोग्य नेताका रूपमा परिचित छन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुर निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (एमाले)का उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् ।
थापाको राजनीतिक यात्रा २०३५/०३६ सालको विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । सप्तरीको राजविराजबाट अनेरास्ववियुमा आबद्ध हुँदै उनले विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गरे । नेतृत्व क्षमताको विकास गर्दै उनले २०३९ मा धरानस्थित मार्क्सवादी अध्ययन समितिको अध्यक्ष, २०४१ मा अनेरास्ववियु सिरहा क्याम्पस अध्यक्ष तथा २०४८ मा त्रियुगा जनता बहुमुखी क्याम्पस, गाईघाटको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको जिम्मेवारी सफलतापूर्वक सम्हाले ।
स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म गहिरो पकड बनाएका थापा तत्कालीन ठोशिला गाउँ विकास समितिमा नेकपा (माले)का संस्थापक सदस्य बने । नेकपा (माले) हुँदै नेकपा (एमाले) निर्माण र विस्तारमा सक्रिय भूमिका खेलेका उनी एमालेको प्रथम जिल्ला अधिवेशनबाट सचिवालय सदस्य तथा कार्यालय सचिव बने ।
२०५४ सालमा एमाले उदयपुर जिल्ला कमिटीको उप–सचिव बनेका थापा सोही वर्ष राम्पुर ठोकशिला गाविसको अध्यक्षमा निर्वाचित भए ।
गाउँ विकास समिति राष्ट्रिय महासङ्घ उदयपुरको अध्यक्षका रूपमा २०५५ देखि २०७३ सम्म लामो समय योगदान दिएका थापा २०५६ सालमा उदयपुरकै उत्कृष्ट विकासकर्मी गाविस अध्यक्षका रूपमा सम्मानित समेत भए । यसका साथै, उनले गैरसरकारी संस्था महासङ्घ नेपालको पूर्वाञ्चल इन्चार्ज, केन्द्रीय कोषाध्यक्ष, नेपाल पत्रकार महासङ्घको राष्ट्रिय परिषद सदस्य, कृषि मजदुर संघको जिल्ला अध्यक्ष तथा संस्थापक केन्द्रीय सदस्य जस्ता विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ र यातना भोगेका थापा संघर्षशील नेताका रूपमा परिचित छन् । हाल उनी कोशी प्रदेश कमिटी सदस्य, अखिल नेपाल किसान महासङ्घ कोशी प्रदेश अध्यक्ष तथा संगठन विभागको जिम्मेवारी सम्हाल्दै सक्रिय राजनीतिमा छन् ।
२०७४ देखि २०७९ सम्म बेलका नगरपालिकाको संस्थापक नगरप्रमुखका रूपमा कार्यरत रहँदा थापाले समावेशी विकास, पूर्वाधार विस्तार, सुशासन र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए । बाल अधिकारको क्षेत्रमा पुर्याएको योगदानका लागि उनले २०७८ सालमा राष्ट्रपतिबाट उत्कृष्ट बाल अधिकारकर्मी पुरस्कार प्राप्त गरे भने कृषि मन्त्रालयबाट समेत सम्मानित भए ।
राजनीतिसँगै पत्रकारिता, साहित्य र अनुसन्धानमा पनि सक्रिय थापाका लेख, रचना तथा फुटकर कविता विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन् । उनले कान्तिपुर, समाचार पत्र, नवउदय साप्ताहिक, रेडियो नेपाल लगायतका माध्यममा पत्रकारिता गरेका छन् । साथै, उनी विभिन्न अन्तर्राष्ट्रिय सेमिनार तथा कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् ।
ग्रामीण विकास, योजना तर्जुमा, सूचना तथा सञ्चार, प्राकृतिक स्रोत व्यवस्थापन र विकास आयोजनाका विज्ञका रूपमा परिचित दुर्गा कुमार थापा (स्वस्ती) आज पनि जनताको सेवामा समर्पित, अनुभवी र भरोसायोग्य नेतृत्वका रूपमा उदयपुरमा मजबुत पहिचान बनाएका छन् ।








प्रतिक्रिया