सल्यान । सल्यान सदरमुकाम खलङ्गा नजिक थापागाउँको नयाँ बसपार्कमा जग्गादाता स्व. लक्ष्मण देवकोटाको शाालिक निर्माण गरिएको छ । शारदा नगरपालिका वडा नम्बर, ३ स्थित बसपार्कमा शालिक अनावरण गरिएको हो ।
आफूहरुको दाजुभाइ, दिदिबहिनी तथा आफन्तहरुको सहयोगबाट स्वर्गीय बुवा लक्ष्मणको सम्झनामा शालिक निर्माण गरिएको छोरा महेश देवकोटाले जानकारी दिए ।
विसं. २०६६ सालमा स्व. लक्ष्मणको नाममा उनकी श्रीमती देवी देवकोटाले बसपार्क निर्माणको लागि भनेर करिब तीन रोपनी जग्गा दान गरेकी थिइन् । यद्यपी त्यस स्थानमा शालिक राख्नका लागि स्थानीय तह, प्रदेश सरकार तथा अन्य निकायमा पहल गर्दा सम्भव नभएपछि श्रीमती देवीले पूर्वसांसद अनिशा नेपालीलाई जानकारी गराएकी थिइन् ।
शालिक निर्माणमा सघाएकी नेपालीले शुक्रबार निर्माण भएको शालिकको अनावरण गरेकी हुन् । उनले हाल प्रयोगमा नआएको बसपार्कलाई नियमित सञ्चालनका लागि यातायात प्रालिहरुको ध्यानाकर्षण गराइन् ।
करिब पाँच रोपनी क्षेत्रफलमा निर्माण गरिएको बसपार्कका लागि अन्य स्थानीयहरु स्व. दिपक केसी, स्व. अर्जुन वली तथा सुरेश महर्जन, राधा शर्माले पनि जग्गा दान गरेका थिए ।
सदरमुकाममा बसपार्क नभएको र भीमसेन स्थानमा अस्थायी रुपमा गाडी राख्ने गर्दा सबैलाई समस्या भएपछि स्थानीयहरुले दान गरेको जग्गामा सडक डिभिजन कार्यालय दाङ र तत्कालीन जिल्ला विकास समिति सल्यानले लगानी गरेर बसपार्क निर्माण गरेका थिए । यसका लागि करिब दुई करोड रुपैयाँ लगानी भएको बताइएको छ ।
थापागाउँको यो बसपार्कमा ३० भन्दा बढी गाडी अटाउने क्षमताको छ ।















प्रतिक्रिया