१८ असार २०८३, बिहिबार

कछुअवा पुलमा मोटरसाइकल दुर्घटना : एक भारतीय नागरिकको मृत्यु, अर्का गम्भीर घाइते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुलमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गौर–गंगापिपरा सडक खण्डअन्तर्गत दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा भारत बिहार राज्य, शिवहर जिल्लास्थित पिपराढी थानाअन्तर्गत महनपुर गाउँका मिन्टु पासवान रहेको पहिचान खुलेको छ । उनीहरूले मोबाइलमा परिवारजनले फोन गरेपछि प्रहरीले मृतकको पहिचान पुष्टि गरेको हो । सोही दुर्घटनामा परेर सोही गाउँका राजेश पासवान गम्भीर घाइते भएका छन् । घाइते राजेशको प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

प्रहरीका अनुसार अत्यधिक तीव्र गति र चालकले मदिरा सेवन गरेका कारण मोटरसाइकल अनियन्त्रित भई पुलबाट तल खसेको अनुमान गरिएको छ । दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गंगापिपरामा राखिएको छ भने घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।