काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा रामेछापबाट नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेलले आफ्नो राजनीतिक यात्रा, अनुभव र प्रतिबद्धता सार्वजनिक गर्दै रामेछापेली जनतासँग अमूल्य मत मागेका छन् ।
उनले आफू १५ वर्षअघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएको स्मरण गर्दै पार्टी केन्द्रीय कमिटीमा एकताको कालसहित चार पटक निर्वाचित भइसकेको उल्लेख गरेका छन् । ‘मेरा दुःख र संघर्षका कथा नजिकबाट बुझ्नेलाई थाहा छ,’ उनले भनेका छन्, ‘म आफ्नै कर्म, सक्रियता र निरन्तरताको बलमा धुलोमैलोबाट उठेको गाउँको मान्छे हुँ ।’ उनले आफ्नो उम्मेदवारीबाट कसैलाई दुःखी हुनुपर्ने कारण नरहेको स्पष्ट पारेका छन् ।
आफू पटकपटकको उम्मेदवार नभएको र उमेर पनि ‘पाकेको नभइसकेको’ उल्लेख गर्दै उनले पुरानो अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने सेतुका रूपमा भूमिका खेल्नसक्ने दाबी गरेका छन् । ‘म अनुभवले खारिएको छु, मेरो पार्टी र मुलुकले पत्याए जुनसुकै जिम्मेवारी बहन गर्न सक्छु,’ उनले भने ।
ढुङ्गेलले रामेछापेली जनतामाझ पार्टीले पहिलोपटक आफूलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित समग्र नेतृत्वप्रति धन्यवाद ज्ञापन गरेका छन् । साथै, उम्मेदवार सिफारिसमा परेका अन्य नेताहरूलाई धैर्य गर्न आग्रह गर्दै ‘अवसर अरू पनि आउँछन्, मिलेरै अघि बढ्नुपर्छ’ भन्ने सन्देश दिएका छन् । रामेछापेली जनताको मतको इज्जत राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको अमूल्य मत मागेका छन् । ‘तपाईंको मतको इज्जत राख्दै जिम्मेवारीपूर्वक काम गर्नेछु,’ उनको भनाइ छ ।









प्रतिक्रिया