२१ जेष्ठ २०८३, बिहिबार

एमालेले ‘फिजिटल्ली’ अभियान देशभर सञ्चालन गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै युवालाई केन्द्रमा राखेको विशेष अभियान सुरु गर्ने निर्णय गरेको छ। यस अभियानको नेतृत्व युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेलाई सुम्पिएको छ।

२०८२ पुस २२ गते च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्पन्न सचिवालय बैठकले थेबेलाई युवा परिचालनको केन्द्रीय संयोजकको जिम्मेवारी दिएको हो। पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा युवाको सहभागिता निर्णायक हुने निष्कर्षसहित योजनाबद्ध, संगठित र परिणाममुखी ढंगले परिचालन गर्ने रणनीति अघि सारेको छ।

एमालेले ‘फिजिकल’ र ‘डिजिटल’ दुवै माध्यमलाई समेट्ने गरी ‘फिजिटल्ली’ नामक अभियान देशभर सञ्चालन गर्ने निर्णय गरेको छ। यस अभियानमार्फत युवाशक्तिलाई एकीकृत गर्दै पार्टीको चुनावी र संगठनात्मक अभियानलाई सशक्त बनाइने जनाइएको छ।

अभियान संयोजक थेबेको अध्यक्षतामा सोमबार बसेको बैठकले देशव्यापी रूपमा युवालाई संगठित गर्ने विस्तृत कार्ययोजना तयार गरेको छ। सहसंयोजक समिक बडालका अनुसार ‘संगठित युवा, सचेत अभियान’ नारासहित एमालेले युवा केन्द्रित चुनावी गतिविधि अगाडि बढाउनेछ।

संयोजक थेबेले युवालाई भौतिक उपस्थितिसँगै डिजिटल प्लेटफर्ममार्फत पनि सक्रिय बनाउने उद्देश्यले अभियानलाई ‘फिजिटल्ली’ नाम दिइएको स्पष्ट पारे।

बैठकमा एमाले महासचिव शंकर पोखरेलसहितकाशीर्ष नेताहरूले अभियानलाई प्रभावकारी बनाउँदै पार्टी निर्माण र निर्वाचन दुवै क्षेत्रमा युवालाई जिम्मेवार रूपमा परिचालन गर्न निर्देशन दिएका थिए।

महाधिवेशनबाट ४२ प्रतिशतभन्दा बढी युवालाई केन्द्रीय कमिटीमा समेटेर एमालेले नयाँ उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै नेताहरूले अब यही शक्तिलाई चुनावी मैदानमा परिणाम देखिने गरी परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।