काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) प्रति लक्षित गर्दै दिएको अभिव्यक्तिपछि एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक रूपमा कडा जवाफ दिएका छन्।
आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित उद्घाटन कार्यक्रममा महामन्त्री थापाले नेपाली कांग्रेसलाई ‘कसैले नबोल भनेपछि नबोल्ने दास र लासहरूको पार्टी होइन’ भनेर टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो।
यसै सन्दर्भमा सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले थापाको भनाइप्रति असहमति जनाएका छन्। उनले देश गम्भीर संकटमा रहेको अवस्थामा उत्सव मनाउन नसक्नेहरूलाई कसैले ‘दास’ जस्तो ठान्न सक्ने बताए पनि त्यस्ता व्यक्तिहरू नै समयका ‘स्पार्टाकस’ हुन सक्ने उल्लेख गरेका छन्।
पोखरेलले आफ्नो स्टाटसमा लेखेका छन्— भू–राजनीतिक स्वार्थअगाडि झुक्नु दासता हो भने त्यसको विरोध गर्नु स्वाभिमान हो। विध्वंस, अराजकता र आतंकसामु आत्मसमर्पण गर्नु कायरता हो भने त्यसविरुद्ध उभिएर जनताको मनोबल बढाउनु साहस हो।
उनले संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य संकटमा परेको अवस्थामा देशको पीडालाई बेवास्ता गरेर उत्सव मनाउन नसकिने तर्क पनि गरेका छन्। देश जलिरहेको बेलामा उत्सव मनाउन नसक्नेहरू कसैका लागि दासजस्ता देखिन सक्छन् तर ती नै स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर नयाँ युगको आधार तयार गर्ने स्पार्टाकस बन्न सक्ने पोखरेलको भनाइ छ।
यस्तो छ पोखरेलको स्टाटस-
यसरी पनि सोच्न सकिन्छ-
भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता होस त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो।
विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता होस त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो।
संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जनजनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ ररु
हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्।
ती स्पार्टाकस- जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशीला निर्माण गर्नेछन्।









प्रतिक्रिया