२९ असार २०८३, सोमबार

गगनले समसामयिक राजनीतिक र शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको  बन्दसत्र १० बजेदेखि सुरु हुने भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र महाधिवेशन प्रतिनिधिहरूको दर्ता बाँकी रहेकाले १० बजेका लागि सारिएको हो ।

“अहिले बिहान ब्रेकफास्टबाट सुरु गरिँदै छ । ब्रेकफास्टपछि सानो टिमले कार्यविधिको प्रस्ताव बनाउनेछ,” विशेष महाधिवेशन अभियन्ता रमेश धमलाले भने, “१० बजेदेखि बन्दसत्रमा प्रवेश गर्नेछौँ । सुरुमा कार्यविधि पास गरेर त्यसपछि कार्यविधि अनुसार छलफल र निर्णयहरू हुनेछन् ।”

आजको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन् । महामन्त्री शर्माको प्रतिवेदनमा पार्टीको विधानमा गर्नुपर्ने सुधार, संगठन संरचनामा गर्नुपर्ने सुधार, नीतिगत रूपमा पार्टीले सार्वजनिक गर्ने राष्ट्रिय प्रतिबद्धतासहितका विषय समेटिने बताइएको छ ।

महामन्त्री थापाको प्रतिवेदनमा त्यसको समसामयिक राजनीतिक अवस्थाको समीक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय राजनीतिमा पार्टीले गर्ने नेतृत्वदायी भूमिका र अबको गन्तव्यसहितका विषय समेटिने बताइएको छ ।

यी दुवै प्रतिवेदनमा बन्दसत्रका सहभागीहरूको सुझावसहित पारित गरेपछि बन्द सत्रले नेतृत्व चयन गर्ने वा नगर्ने निर्णय गर्नेछ । बन्दसत्रको अध्यक्षता ललितपुरका महाधिवेशन प्रतिनिधि ओमकार श्रेष्ठले जेष्ठ सदस्यको हैसियतमा गर्नेछन् ।