-कृष्ण पौडेल
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका अन्तर्गत भालुखोला र जवाबैराठ वन क्षेत्रमा बन–जंगल सरसफाइ कार्य सुरु गरिएको छ। गौतम बुद्ध साझेदारी बन उपभोक्ता समूहको पहलमा सुरु गरिएको सरसफाइ कार्यले वन संरक्षणलाई सुदृढ बनाउनुका साथै स्थानीय बासिन्दालाई रोजगारीको अवसर पनि उपलब्ध गराएको हो ।
उपभोक्ता समूहका अनुसार करिब ५२ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा झाडी सरसफाइको काम भइरहेको छ। सरसफाइ कार्यमा करिब ६० जना स्थानीय बासिन्दा संलग्न छन्, जसबाट उनीहरूले अस्थायी रोजगारी पाएका छन्।
वन क्षेत्रमा गरिएको झाडी सरसफाइले डढेलो तथा आगलागीको जोखिम न्यूनीकरण गर्नुका साथै वनलाई व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने उपभोक्ता समूहले जनाएको छ। साथै यसले जैविक विविधता संरक्षण र हरियाली प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
उपभोक्ता समूहका अध्यक्ष प्रबेज आलम खाँले झाडी सरसफाइपछि वन क्षेत्रमा डढेलो लाग्ने सम्भावना घट्ने र नयाँ बिरुवा उम्रन अनुकूल वातावरण तयार हुने बताए। साथै सरसफाइ कार्यमार्फत स्थानीयलाई रोजगारीको अवसर मिल्नुका साथै समुदायको वनप्रतिको जिम्मेवारी भावना थप सुदृढ हुने उनको भनाइ छ। वन संरक्षण सबैको साझा दायित्व भएकाले यस्ता सरसफाइ कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए।
यसैगरी, डिभिजन वन कार्यालयका रेन्जर टोपबहादुर गुरुङले झाडी सरसफाइले वनको दीर्घकालीन संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। झाडी सफाइका कारण साजो, सालजस्ता बहुमूल्य काठ प्रजातिहरू छिटो उम्रन र राम्रोसँग विकास हुन सहयोग पुग्ने उनको भनाइ छ। यसले वनको जैविक विविधता र वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्ने उनले उल्लेख गरे।
स्थानीय बासिन्दाले बन–जंगल सरसफाइ कार्यले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने भन्दै खुशी व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्ता कार्यले वन संरक्षणसँगै समुदायको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया