२१ असार २०८३, आइतबार

कर्मवाद : समृद्ध नेपालको अपरिहार्य बाटो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मणिराज डंगोल

नेपाल केवल भौगोलिक रूपमा हिमाल, पहाड र तराईले बनेको देश होइन, यो हजारौँ वर्षको श्रम, तपस्या र कर्म दर्शनले बनेको सभ्यता हो। ऋषिमुनिहरूको तपोभूमि, किसानको हलो, मजदुरको हथौडा र युवाको पसिनाले यो देश उभिएको हो। तर आज यही देशले एक गम्भीर प्रश्न सामना गरिरहेको छ-हामी कर्मबाट किन टाढिँदै गइरहेका छौँ ?

गाउँमा खेत बाँझा छन्, शहरमा कामको खोजीमा भीड छ। किसान उत्पादन गर्छ तर मूल्य पाउँदैन, मजदुर काम गर्छ तर सम्मानजनक जीवन जिउन सक्दैन। यही विडम्बनाबीच हामी अर्बौँ रुपैयाँको खाद्यान्न आयात गरिरहेका छौँ।

 

काम (कर्म) नै व्यक्ति, समाज र राष्ट्रको भविष्य निर्धारण गर्ने मूल आधार हो भन्ने चेतनाबाट जन्मिएको दर्शन हो कर्मवाद। कर्मवाद कुनै पुरानो धार्मिक अवधारणा मात्र होइन, यो आधुनिक राज्य सञ्चालन र समृद्धिको व्यवहारिक सूत्र हो। जहाँ कर्मलाई सम्मान दिइन्छ, त्यहाँ उत्पादन बढ्छस जहाँ श्रमको मूल्य हुन्छ, त्यहाँ आत्मनिर्भरता जन्मिन्छ।

आज नेपालका करिब तीन करोड नागरिकमध्ये ठूलो हिस्सा या त बेरोजगार छ, या अर्धबेरोजगार। लाखौँ युवायुवतीहरू सीप, ऊर्जा र सपना बोकेर अवसरको खोजीमा विदेशिन बाध्य छन्। गाउँमा खेत बाँझा छन्, शहरमा कामको खोजीमा भिड छ। किसान उत्पादन गर्छ तर मूल्य पाउँदैन, मजदुर काम गर्छ तर सम्मानजनक जीवन जिउन सक्दैन। यही विडम्बनाबीच हामी अर्बौँ रुपैयाँको खाद्यान्न आयात गरिरहेका छौँ।

यो समस्या संयोग होइन, यो कर्मलाई केन्द्रमा नराखेको विकास सोचको परिणाम हो।

हाम्रो समाजमा अझै पनि शारीरिक श्रमलाई हेप्ने, कार्यालयको कुर्सीलाई मात्रै प्रतिष्ठा मान्ने मानसिकता बलियो छ। कामको प्रकृतिका आधारमा मान्छेको मूल्यांकन गरिन्छ। यही कारणले युवा खेततिर फर्किन लाज मान्छ, उद्यमभन्दा जागिर खोज्न बाध्य हुन्छ, र श्रमलाई होइन, सजिलो आम्दानीलाई सफलता ठान्छ।

कर्मवादले यही मानसिकता बदल्न खोज्छ।

कर्मवाद भन्छ- श्रम सानो हुँदैन, कर्म अपमानजनक हुँदैन।
कर्मवाद भन्छ- काम गर्ने हात नै राष्ट्रको मेरुदण्ड हो।
कर्मवाद भन्छ- उत्पादन बिना समृद्धि सम्भव छैन।

यदि हामीले कर्मवादलाई केवल भाषणमा सीमित राख्यौँ भने केही बदलिँदैन। तर यदि यसलाई राज्यका नीति, सामाजिक व्यवहार र व्यक्तिगत जीवनशैलीमा उतार्न सक्यौँ भने नेपाल आत्मनिर्भरताको बाटोमा तीव्र गतिमा अघि बढ्न सक्छ।

कर्मवादको व्यवहारिक अर्थ के हो त ?

पहिलो- श्रम प्रतिष्ठाको पुनर्स्थापना।
शारीरिक र बौद्धिक श्रमबीचको कृत्रिम विभाजन अन्त्य हुनुपर्छ। खेतमा काम गर्ने किसान, कारखानामा काम गर्ने मजदुर र कार्यालयमा काम गर्ने कर्मचारी सबै राष्ट्र निर्माणका समान हिस्सेदार हुन् भन्ने चेतना समाजमा स्थापित हुनुपर्छ।

दोस्रो- युवालाई कर्मवीर बनाउने नीति।
युवालाई केवल उपभोक्ता होइन, उत्पादक बनाउने सोच आवश्यक छ। सीप, पूँजी र बजारको पहुँच सुनिश्चित गरियो भने युवा विदेश जान बाध्य हुँदैनन्। कृषि, उद्योग, पर्यटन, सूचना प्रविधि र उद्यमशीलतामा युवाको सहभागिता बढाउन विशेष कार्यक्रम आवश्यक छ।

तेस्रो- बाँझो जमिन र निष्क्रिय श्रमशक्तिको उपयोग।
देशभर लाखौँ रोपनी जमिन बाँझै छन्। यदि सामूहिक खेती, आधुनिक प्रविधि र सुनिश्चित बजारको व्यवस्था गर्न सकियो भने कृषि पुनर्जागरण सम्भव छ। यसले रोजगारी पनि सिर्जना गर्छ र आयात पनि घटाउँछ।

चौथो- आवश्यकतामुखी जीवनशैलीको विकास।
कर्मवादले विलासिताविरोधी चेतना दिन्छ। “विलासिताका लागि बाँच्ने होइन, बाँचिसकेपछि र वैकल्पिक आवश्यकताका रूपमा मात्र विलासिता” भन्ने सोचले समाजलाई जिम्मेवार उपभोगतर्फ लैजान्छ। यसले ऋण, आयात र असमानता घटाउन सहयोग गर्छ।

कर्मवाद केवल आर्थिक दर्शन होइन, यो सामाजिक न्यायको आधार पनि हो। जब अवसर कर्मका आधारमा वितरण हुन्छ, तब नातावाद, कृपावाद र पहुँचवाद कमजोर हुन्छ। जब श्रमको मूल्य सुनिश्चित हुन्छ, तब गरिबी घट्छ। जब उत्पादन बढ्छ, तब आत्मनिर्भरता बलियो हुन्छ।

आज आवश्यकता छ- राजनीतिक दल, नागरिक समाज, संघ–संस्था र सचेत नागरिकहरूले कर्मवादलाई साझा एजेन्डा बनाउने। चुनावी भाषणमा मात्र होइन, नीति निर्माण, बजेट प्राथमिकता र सामाजिक व्यवहारमा कर्मवाद उतार्ने।

अब प्रश्न विचारको होइन, संकल्पको हो।
अब प्रश्न घोषणाको होइन, कार्यान्वयनको हो।

यदि हामी कर्ममा विश्वास गर्छौँ भने नेपाललाई कसैले रोक्न सक्दैन।
यदि हामी श्रमलाई सम्मान गर्छौँ भने समृद्धि टाढा छैन।
यदि हामी उत्पादनलाई प्राथमिकता दिन्छौँ भने आत्मनिर्भर नेपाल सपना होइन, सम्भावना हो।

कर्ममै भविष्य छ।
कर्ममै आत्मसम्मान छ।
कर्ममै समृद्ध नेपालको बाटो छ।

जय कर्मवाद।
जय श्रम।
जय समृद्ध नेपाल।