१ असार २०८३, सोमबार

स्वतन्त्र मुलुक भेनेजुएलामाथि अमेरिकी आक्रमण विश्वका लागि खतरा : झलनाथ खनाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले भेनेजुएलाविरुद्ध भएको अमेरिकी आक्रमणको कडा निन्दा तथा भर्त्सना गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेल्टा फोर्स प्रयोग गरी एक सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र मुलुक भेनेजुएलामाथि नांगो र ठाडो ढंगले आक्रमण गरेको खनालले बताए । आक्रमणका क्रममा त्यहाँका निर्वाचित राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई जबर्जस्ती नियन्त्रणमा लिएर अमेरिका लैजानु अन्तर्राष्ट्रिय कानूनको समेत ठाडो उल्लंघन भएको खनालले दैनिक नेपालसँगको कुराकानीमा बताए ।

उनले भेनेजुएलामाथि गरिएको आक्रमण निकृष्ट र अमानवीय भएको उल्लेख गर्दै त्यहाँका नागरिक तथा सैनिकको हत्या भएको, सैन्य अड्डाहरू ध्वस्त पारिएको समाचार आइरहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले भेनेजुएला संसारकै सबैभन्दा ठूलो तेल भण्डार भएको मुलुक भएको उल्लेख गर्दै ती प्राकृतिक स्रोत कब्जा गर्ने उद्देश्यले अमेरिका लामो समयदेखि विभिन्न प्रयत्नमा लागेको र अहिले आएर प्रत्यक्ष सैन्य आक्रमण गरेको टिप्पणी गरे ।

“हामी सबैलाई थाहै छ, भेनेजुएला भनेको संसारको सबैभन्दा ठूलो तेल भण्डार भएको मुलुक हो । ती कच्चा पदार्थहरु कब्जा गर्नका लागि अमेरिका धेरै अगाडिदेखि विविध ढंगले प्रयत्न गर्दै थियो । अहिले आएर सैन्य आक्रमण गरेको छ ।” खनालले भने । साथै, अमेरिकाको यस्तो कदमले विश्वका सबै मुलुकहरूका लागि गम्भीर खतरा पैदा गरेको खनालले बताए ।

“यो आक्रमणले सम्पूर्ण संसारका सबै मुलुकहरुमाथि यौटा खतरा पैदा गरेको छ ।” खनालले भने । ल्याटिन अमेरिकाका देशहरूले पनि यस आक्रमणको निन्दा गरेको र विश्वभर नै विरोधका स्वरहरू उठिरहेको खनालको भनाइ छ ।

खनालले नेपाली जनता पनि भेनेजुएलामाथिको आक्रमणविरुद्धको विश्वव्यापी विरोधमा ऐक्यबद्धता जनाउन चाहने बताए । “संसारभरि नै अहिले भेनेजुएलामाथिको आक्रमणकाविरुद्ध विरोध सृजना भएको छ । र नेपाली जनता पनि यो विरोधको लहरमा ऐक्यबद्धता जनाउन चाहान्छन् ।” खनालले भने ।

उनले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टीले यस प्रकारको अमेरिकी आक्रमणको घोर निन्दा र भर्त्सना गर्ने स्पष्ट पारे ।