२१ असार २०८३, आइतबार

अख्तियार प्रमुखलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा डिफ्युजन नोटिस जारी भएका उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई)को फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पक्राउ गरेको हो ।

बीआईले उनको फोटोसहितको विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । पाठकविरुद्ध १ डिसेम्बर २०२५ मा काठमाडौं जिल्ला अदालतबाट आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी गरिएको थियो । यो जानकारी इन्टरपोलमा पुगेपछि पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षडयन्त्रको आरोपमा डिफ्युजन नोटिस जारी गरिएको थियो ।

फिलिपिन्सको अध्यागमन विभागका अनुसार पाठकले फरार कैदीहरुलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने र हतियारसम्मको पहुँच भएको अभिव्यक्ति दिएका थिए ।

त्यस्तै, उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षडयन्त्रसँग पनि जोडिएका थिए ।

पाठक १८ अगस्ट २०२५ मा फिलिपिन्स पुगेका थिए र उनलाई १८ डिसेम्बरसम्म त्यहाँ बसोबास गर्ने अनुमति दिइएको थियो ।

फिलिपिन्सको अध्यागमन विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया पूरा नभएसम्म हिरासतमा राख्ने जनाएको छ ।

पाठकले आफूलाई उग्रवादी संगठनको प्रमुख बताउँदै राईसहितको हत्या गर्ने धम्की दिएका थिए । केही समयअघि काठमाडौं प्रहरीले उनका तीन जना साथीहरुलाई पनि पक्राउ गरेको थियो ।