काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिगो लोकतन्त्रका निम्ति आसन्न निर्वाचन सफल बनाउन आग्रह गरेकी छन् । आफूले यही बिन्ती गर्न बैठक बोलाएको उनले बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका शीर्ष नेतालाई बालुवाटारमा छलफलमा बोलाएकी थिइन् । “मेरो निमन्त्रणालाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धेरै धन्यवाद र स्वागत छ,” उनले भनिन् ।
उनले सरकारले निर्वाचनको तयारी गरिरहेको बताइन् । “यो घर तपाईंहरूकै हो । म त न्याय क्षेत्रको मान्छे, राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ,” उनले भनिन्, “प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु ।”
उनले नेताहरूलाई निर्वाचन जसरी पनि सफल पार्न आग्रह गरिन् । “मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ । सबै यसमा सहभागी हुनुपर्छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईंहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । त्यस्तो वातावरण बनिरहेको देख्छु । यो स्वागतयोग्य छ ।”
प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आयोग र प्रहरी प्रशासनलाई साधनस्रोत उपलब्ध गराइएको उनले उल्लेख गरिन् । प्रहरी प्रशासनको मनोबल पनि उच्च बनाउँदै लगेको उनले बताइन् ।








प्रतिक्रिया