३ श्रावण २०८३, आइतबार

अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताएका छन् ।

आज कोहलपुरमा आयोजित कोहलपुर महोत्सवको उद्घाटन गर्र्दै अध्यक्ष ढकालले प्रश्न गरे- चाहे त्यो २०६२/६३ को जनआन्दोलन होस् या गत चैतको, अथवा गएको भदौको जेनजी आन्दोलन होस्, सधैँ निजी क्षेत्र नै आक्रमणको तारो बनेको छ । यसबाट निजी क्षेत्र र समग्र अर्थतन्त्रमा नराम्रो असर परेको छ।

अध्यक्ष ढकालले निजी क्षेत्र कुनै व्यक्ति या कम्पनी विशेषको नभएर मुलुकको अर्थतन्त्रकै इञ्जिन तथा नेपालको समृद्धिको आधार हो भन्ने तथ्य अब राज्यले नै सबैलाई बुझाउनु जरुरी रहेको र त्यसो भयो भनेमात्र आगामी दिनमा निजी क्षेत्रले यस्तो अवस्था भोग्नु नपर्ने स्पष्ट पारे ।

कहिले भूकम्प, कहिले कोभिड महामारी तथा कहिले अन्य कारणले संकटमा परिरहेको मुलुकको अर्थतन्त्र र समग्र निजी क्षेत्र नै अहिले आगजनीबाट ध्वस्त हुन पुगेको प्रसंग उल्लेख गर्दै उनले तर खरानीबाटै उठ्नुपर्ने बाहेकको अर्को विकल्प नरहेकोले अब सबैले मनोबल उकासेर अघि बढ्नुपर्ने धारणा राखे ।

मुलुकको समग्र निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल उकास्न सरकारसँग संवाद गर्दै आएको र यसैक्रममा निजी क्षेत्रको संरक्षणका लागि सरकारसमक्ष प्रस्तुत गरेको ‘प्राइभेट सेक्टर प्रोटेक्सन प्लान’ लाई प्रधानमन्त्रीले मन्त्रिपरिषदबाटै पास गर्ने आस्वासन दिएको पनि सुनाए ।

मुलुकको अर्थतन्त्रमा कम्तीमा ८१ प्रतिशत योगदान गरेको निजी क्षेत्र यतिखेर मनोबल खस्किएर निराश अवस्थामा रहेको चर्चा गर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना हुने यस्ता मेलामहोत्सवबाट पनि आर्थिक गतिविधिहरु च्लायमान बनाउन सहयोग पुग्ने धारणा राखेका छन् ।

अध्यक्ष ढकालले यसप्रकारका मेला महोत्सवहरुमा स्थानीय उत्पादनलाई प्रश्रय दिन र मौलिक उपज, संस्कृति र परम्पराको जगेर्ना गरी स्थानीय प्रतिभाहरुलाई प्रेरणा प्रदान गर्ने काम गर्न आयोजकहरुलाई आग्रह पनि गरेका थिए ।