काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले नैतिकता गुमाएको बताएका छन् ।
जेनजीको नाममा अहिलेको सरकार बनेको भन्दै बस्नेतले जेनजी नै आन्दोलनमा उत्रिएपछि सरकारको नैतिक हैसियत सकिएको बताएका हुन् । ‘जेनजीको नाममा बनेको यो सरकारले अब नैतिकता गुमाएको छ र दलहरू सहित सर्वपक्षीय पहलबाट मात्र जेनजीको समस्या समाधान र मुलुकको निकास सम्भव छु,’ उनले भने ।
जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको नेतृत्वमा युवा समूहले प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई अपदस्त गरेर सर्वपक्षीय सरकार बनाउन माग गर्दै आन्दोलन संस्थागत गरेका बताउँदै उनले अब सुशीला कार्कीले सत्ता छाड्नु पर्ने बताए ।
मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन–जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन–जी’ आन्दोलन घोषणा गरेको छ । आन्दोलनको पहिलो कार्यक्रम स्वरूप भोलि बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन आव्हान गरिएको छ । भदौ २३–२४ मा भएको आन्दोलन र त्यसले उठाएका मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको भन्दै सरकारले जेन–जी आन्दोलनको मर्म नबुझेको सो समूहको ठहर छ ।
सरकार समग्र युवाको नेतृत्व गर्न असफल भएको भन्दै ढुङ्गाना समूहले सर्वपक्षीय सरकार गठनको माग गरेको छ । सबै राजनीतिक तथा सामाजिक पक्षलाई विश्वासमा लिन सक्ने नेतृत्व देशका लागि आवश्यक भएको बताउँदै सर्वपक्षीय सरकार गठनको मुद्दा लिएर सो समूह आन्दोलनमा जान लागेको हो ।









प्रतिक्रिया