१३ असार २०८३, शनिबार

उदयपुरमा जंगली हात्तीको आतंक, असारयता बेलकामा ७ र चौदण्डीगढीमा ६ वटा घटना

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । उदयपुरमा वर्षेनी जंगली हात्तीले दुःख दिँदै आएको छ । हरेक वर्ष जाडो मौसम सुरु हुनासाथ जिल्लामा जंगली हात्तीले स्थानीयहरुलाई आतंकित बनाउँदै आएको छ ।

जाडो महिना सुरु हुनासाथ उदयपुरमा हुलका हुल जंगली हात्ती आएर स्थानीयका घर भत्काउनेदेखि धान, मकै, लगायत अन्न खाने र नष्ट गरिदिने, घर टहरा भत्काउने जस्ता घटना घटाउने गरेका छन् । पछिल्लो समय वर्षाको समय सुरु हुनसाथ गएको असार देखिनै उदयपुरमा जंगली हात्तीले स्थानीयलाई दुःख दिँदै आएको हो ।

गएको असारयता अहिलेसम्म उदयपुरको बेलका नगरपालिकामा हात्तीले सात र चौदण्डीगढी नगरपालिकामा छवटा घटना घटाएका छन् । असार यता मात्र जंगली हात्तीले बेलका र चौदण्डीगढी नगरपालिका मात्र ११ लाख ३ हजार बराबरको धनमाल र बालीनालीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गएराति मात्र जंगली हात्तीले चौदण्डीगढी नगरपालिका–१० का अमृत अधिकारीको घरको टाटी भत्काउनुका साथै धान लगायतका खाद्यान्नमा क्षति पुर्‍याउँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो भने बिहीबार राति चौदण्डीगढी नगरपालिका–९ का पर्शुराम हुजदाराको झन्डै १५ हजार बराबरको धानमा जंगली हातीले क्षति पुर्‍याएको थियो । यी त पछिल्ला घटनाको प्रतिबिम्ब मात्र हुन यस्ता घटना वर्षेनी उदयपुरमा घट्ने गरेको तथ्यांक उदयपुर प्रहरीसँग छ ।

गएको आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा जंगली हात्तीले आतंक मच्चाउदा १९ वटा घटना घटेका थिए ती घटनाबाट १६ लाख बढीको क्षति भएको थियो भने २ जना घाइते भएका थिए । आर्थिक वर्ष २०८१/०८२ मा पनि जंगली हात्तीको आतंकबाट १५ वटा घटना भएका थिए ती घटनाबाट १६ लाख बढीको क्षति र २ जना घाइते भएका थिए ।

वर्षेनी हुने जंगली हात्तीको आतंकबाट आजित भएका स्थानीय बासिन्दाले स्थानीय र प्रदेश सरकारतर्फ आँखा ताकिरहेका छन् तर नत स्थानीय सरकार नत प्रदेश सरकार कसैले पनि हात्ती आतंक रोक्ने ठोस योजना वा भरपर्दो उपाय ल्याउन सकेको छैन ।

२०८० साल फागुनमा तत्कालिन कोशी प्रदेश सरकारले पूर्वको झापास्थित मेची खोला तीर हुँदै हात्ती नेपालतर्फ प्रवेश गर्ने नाका बाहुनडाँगीबाट ‘हात्ती प्रभावित क्षेत्रको पदयात्रा’ सुरु गरेर उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित बेलसोतमा पुगेर समापन गर्नु बाहेक अहिलेसम्म कुनै पनि तहका सरकारले जंगली हात्तीको आतंक रोक्ने भरपर्दो उपाय ल्याएका छैनन् ।

उदयपुरका हात्ती पीडितहरुले नत बेलैमा क्षतिपूर्ति पाउन सकेका छन्, नत जीउधनको सुरक्षा नै पाउन सकेका छन् ।

जंगली हात्तीले आतंक मच्चाउँदै आएका क्षेत्रका स्थानीयहरुले सरकारले टर्चलाइट, साइरन र बिजुली बत्तीको जडान गरिदिए केही राहत मिल्ने बताएका छन् । हात्तीको बढी आतंक हुने क्षेत्रमा सरकारी तवरबाटै भरपर्दो उपायसहितको पहलको आवश्यकता रहेको छ ।