काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको छ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले एक वर्षका लागि लगानी गर्न लागिएकाले यही मंसिर २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा पाँच अर्ब २८ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ९९ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ बराबर लगानी गर्न लागिएको सूचनामा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम कुल कर्जा पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेकोलगायतका शर्त पूरा गरेको हुनुपर्नेछ ।
त्यसैगरी, केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमको व्याजदरसहित प्रस्ताव गर्न सूचनामा आग्रह गरिएको छ ।
सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १५ करोड रुपैयाँ र वित्त कम्पनीमा पाँच करोड रुपैयाँ बराबर लगानी गर्न लागिएको हो । यही मंसिर २८ गतेसम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन केन्द्रीय बैंकले आग्रह गरेको छ । रासस








प्रतिक्रिया