काठमाडौं । अमेरिका, यूकेलगायत देशमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं–२७ घर भई हाल महालक्ष्मी नगरपालिका–४, ललिलपुर बस्ने मनोजकुमार सिंह भनिने अनुपकुमार सिंह र दोखला घर भई मध्यपुर थिमि नगरपालिका–९, भक्तपुर बस्ने नरबहादुर श्रेष्ठ भनिने लड्डुबहादुर श्रेष्ठ रहेका छन् ।
पीडितको उजुरीपछि उनीहरूलाई झापा प्रहरीको सहयोगमा मेचीनगर नगरपालिका–१० धुलाबारीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले आफूहरू महावज्रयोगिनी एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिका सञ्चालक तथा पूर्वराजपरिवारको भान्जा पर्ने बताउँदै ठगी गर्दै आएका थिए ।
यूकेको म्यान्चेस्टर सहरमा मिडल्यान्ड होटेलबाट कामदार माग भई आएको बताएर नक्कली रोजगार सम्झौतापत्र, बेलायती दूतावासको नक्कली पत्र, नक्कली भिसा, हवाई टिकट आदि देखाएर आकर्षको तलबको प्रभोलन देखाएका थिए ।
सिंह र श्रेष्ठलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
साथै, सिंहविरुद्ध यसअघि नै ठगी र धाकधम्कीका सातवटा मुद्दा देखिएको प्रहरीले जनाएको छ । उल्लिखित व्यक्तिबाट ठगिएकाहरूले कानुनी कारबाहीका लागि कागजासहित कार्यालयमा सम्पर्क राख्न पनि प्रहरीले आग्रह गरेको छ ।








प्रतिक्रिया