काठमाडौं । विश्वप्रख्यात फुटबलर लियोनल मेस्सी तीनदिने भ्रमणका लागि शनिबार भारत आउँदै छन् । यसक्रममा मेस्सीले भारतको चार प्रमुख शहरहरू– कोलकाता, हैदराबाद, मुम्बई र नयाँ दिल्लीको यात्रा गर्नेछन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाका कप्तान मेस्सी डिसेम्बर १३ मा बिहान १ः३० बजे कोलकाता आइपुग्नेछन् र त्यसपछि सोही दिन हैदराबादको भ्रमण गर्नेछन् । त्यसपछि उनी डिसेम्बर १४ मा मुम्बई र डिसेम्बर १५ मा नयाँ दिल्लीको भ्रमण सकेर फर्कनेछन् ।
आफ्नो भ्रमणको क्रममा मेस्सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउड अभिनेता शाहरुख खानसहित धेरै सेलिब्रेटीहरू र मुख्यमन्त्रीहरूलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
मेस्सीसँगै उनका बार्सिलोनाका सहकर्मी तथा उरुग्वेका स्ट्राइकर लुइस स्वारेज र फिफा विश्वकप विजेता रोड्रिगो डे पल पनि कार्यक्रममा उपस्थित हुनेछन् ।
मेस्सीको कार्यक्रमको टिकट जोमाटोको डिस्ट्रिक्ट एपमा उपलब्ध हुनेछ । कार्यक्रमका लागि धेरैजसो शहरहरूमा टिकटको मूल्य लगभग ४,५०० भारतीय रुपैयाँ छ भने मुम्बईको लागि टिकटको मूल्य ८,२५० भारतीय रुपैयाँ छ ।
मेस्सीले हैदराबादमा राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछन्, जसमा तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी पनि उपस्थित हुने बताइएको छ ।
मेस्सी अन्तिम पटक १४ वर्षअघि साल्ट लेक स्टेडियममा अर्जेन्टिना र भेनेजुएलाबीचको फुटबल खेलको क्रममा कोलकाताको भ्रमणमा आएका थिए ।








प्रतिक्रिया