रौतहट । रौतहटको कटहरिया नगरपालिकाको सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको आरोपमा तत्कालीन सात कर्मचारी तथा एक संस्थामाथि अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा नगरसभाले बजेट स्वीकृत नै नगरेको अवस्थामै सरिता फाउण्डेसनको नाममा पाँच लाख रुपैयाँको चेक काटिएको र मिलेमतोमा रकम हिनामिना गरिएको पाइएको हो । आयोगले अनियमित तरिकाले भुक्तानी लिई–दिई नगरपालिकालाई ९ लाख ९८ हजार ९२१ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको ठहर गरेको छ ।
नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेककुमार सहनी, सहायक पाँचौं स्तरका कर्मचारी रामनरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेशकुमार दास, खरिदार कौशल किशोर चौधरी लगायत ७ कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जारी गरेको विवरणमा उल्लेख छ ।
त्यसैगरी, काठमाडौंस्थित सरिता फाउण्डेसन तथा संस्थाकी निर्देशक सरिताकुमारी साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा ९ लाख ९८ हजार ९२१ रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।









प्रतिक्रिया