१० असार २०८३, बुधबार

सुदूरका जिल्लामा ४६ हजार नयाँ मतदाता, सबैभन्दा कम बाजुरामा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ९ मंसिर । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ४६ हजार नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९ वटै जिल्लाका निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिइएको थियो ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र सुदूरका जिल्लामा ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार, २९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धित निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए ।

नयाँ थपिएका मतदाता मध्ये सबैभन्दा बढी कैलालीमा छन् । भने सबैभन्दा कम बाजुरामा रहेका छन् । कैलालीमा १८ हजार २१३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

त्यस्तै, सबैभन्दा कम रहेको बाजुरामा एक हजार ५१७ जना नयाँ मतदाता थपिएका हुन् ।

कैलालीपछि क्रमशः कञ्चनपुरमा १२ हजार २९१, बैतडीमा दुई हजार ६५२, दार्चुलामा दुई हजार ६२८, अछाममा दुई हजार ६०४, बझाङमा दुई हजार ३४५, डडेल्धुरामा एक हजार ८९२ र डोटीमा एक हजार ८७८ जना मतदाता थपिएका छन् ।

सबै जिल्लामा थपिएका नयाँ मतदाता बढीजसो जेनजी उमेर समूहका रहेका छन् ।