
पर्सा, ९ मंसिर । पर्साको पकाहामैनपुरबाट स्रोत नखुलेको १५ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पकाहामैनपुर गाउँपालिका वडा नं.१ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जाँच गर्ने क्रममा रकमसहित पक्राउ गरेको हो ।
पकाहामैनपुर गाउँपालिका वडा नं. १ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार बिआर२२ एफ४१२६ नम्बरको मोटरसाइकलको लेग गार्डमा पंकज मशाला लेखिएको झोलाभित्र कालो प्लाष्टिकमा बेरिएको अवस्थामा रकम बरामद भएको हो ।
मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद रकम हुण्डी कारोबारका लागि ल्याइएको हुनसक्ने आशंका गरिएको छ ।
नेपालमा हुण्डीमार्फत रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य मानिन्छ ।












प्रतिक्रिया