काठमाडौं, ८ मंसिर । भदौ २३–२४ को जेन-जी आन्दोलनमा बुलेट बाइकको साइलेन्सर पड्काउँदै चर्चामा आएका तेन्जिन लामाले आफू आधा तिब्बतीयन भएको प्रहरीसमक्ष स्वीकार गरेका छन्।
‘तिब्बतीयन ओरिजिनल ब्लड’ लेखिएको टी–सर्ट लगाएर देखिएका उनीबारे नागरिकता, बाबुआमा र शैक्षिक प्रमाण सबै नक्कली रहेको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।
एसपी पवन भट्टराईका अनुसार तेन्जिनले बोकेको हतियार वास्तविक नभएको, उनले म्युजिक भिडियो सुटिङकै लागि खेलौना पेस्तोल किनेको खुलेको छ। उनले आन्दोलनमा ‘मेरो देश फिर्ता दे’ भन्दै नाराबाजी गर्नु पनि गल्ती भएको स्वीकृति दिएका छन्।
तेन्जिनविरुद्ध अभद्र व्यवहार, लिखतसम्बन्धी मुद्दा र नागरिकतारराहदानीसम्बन्धी गरी तीन मुद्दा दर्ता भएका छन्। उनीसँग गाँजा समेत फेला परेको प्रहरीले जनाएको छ। टीओबी समूहसँग सम्बन्धित १३ बुलेट मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा लिइएको छ।
तेन्जिनको पारिवारिक परिचय अस्पष्ट छ। उनको पालन–पोषण पेमा डोल्माले गरेको मात्र खुलेको छ भने बाबुआमाको पहिचान कतैबाट पुष्टि गर्न नसकिएको प्रहरीले बताएको छ। नक्कली नागरिकता र शैक्षिक प्रमाण पत्ता लागेका तेन्जिनलाई अन्य मुद्दासहित ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।








प्रतिक्रिया