
–अन्जनी कुमार अधिकारी
उदयपुर, ७ मंसिर । कोशी प्रदेश सरकारले अहिलेसम्मकै लामो मोटरेबल पक्की पुल निर्माण गरेको छ । खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर ५ र जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर १ जोड्ने बुवाखोलाको यो पुल प्रदेश सरकारद्वारा निर्मित पुलहरु मध्येकै लामो १ सय ४८ मिटर लम्बाई र ८ मिटर चौडाई रहेको पुल निर्माणको कार्य सम्पन्न भएको हो ।
प्रदेश सरकारले विनियोजन गरेको १७ करोड ५८ लाख ७९ हजार ७ सय २९ रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न गरिएको हो । गत वर्ष मंसिर ६ गते शिल्यान्यास गरेर निर्माण सुरु गरिएको ४ स्पानको मोटरेबल पक्की पुल ठिक वर्षमा हिजो शनिबार मंसिर ६ गतेकै दिन उद्घाटन गरिएको हो ।
पुल निर्माणको जिम्मा जय बागेश्वरी–रेग्मी चुरिया जे.भी. गाईघाटले लिएको थियो । निर्माण सम्झौता अनुसार उसले २०८३ साल कात्तिक २१ सम्ममा पुल निर्माणको कार्य सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले एक वर्ष पहिला पुल निर्माणको काम सम्पन्न गरेको हो ।
खोटाङको बुवाखोलामा निर्मित यस मोटरेबल पक्की पुलले दक्षिण पूर्वी खोटाङका स्थानीय पालिकाहरुलाई जोड्ने मात्र नभएर यसले उदयपुर जिल्लासँगको सिधा यातायात सञ्चालनमा समेत सहजता ल्याउने स्थानीयहरुले बताएका छन् ।
खोटाङलाई तराई मधेशसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बुवाखोलामा निर्मित पुल हुँदै तत्कालीन खोटाङ जिल्लाको सदरमुकाम समेत रहेको खोटाङ बजार, चिसापानी, बराहपोखरी र छिमेकी जिल्ला भोजपुरसम्म सहज आवतजावत गर्न सकिने जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष केदारमान राईले बताए ।
उदयपुर र खोटाङ जिल्लालाई जोड्ने बंसिला घाटस्थित सुनकोशी नदीमा पुल निर्माण सम्पन्न भएसँगै खोटाङ जिल्लाले तराई मधेशसँग सिधा यातायात सम्बन्ध स्थापित गर्ने कोशी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राईले बताए । उनले अहिले संघीय सरकारले बंसिलाघाटमा पक्की पुल निर्माणको काम सुरु गरिरहेको बताउँदै उक्त पुल निर्माणको कार्य सम्पन्न नहुन्जेल अस्थायी रुपमा सहज आवतजावत गराउने बेलिब्रिज निर्माणको कार्य सुरु गरिएको समेत बताए ।
मन्त्री राईले बुवाखोलामा निर्मित पुलको शनिबार उद्घाटन गर्दै अब खोटाङलाई सहज र छोटो दुरीमा तराई मधेशसँग सिधा यातायात सञ्चालन हुनेगरी सम्बन्ध स्थापित गराउने समेत बताए । उनले बहुदलपछिको झन्डै ३६ वर्ष विकासमा पछि परेको खोटाङले अब फड्को मार्ने समेत दाबी गरे ।
बुवाखोलामा पुल बन्दा जुन खुशी स्थानीयमा मात्र नभएर भोजपुर र उदयपुरका जनतामा समेत छाएको छ यसलाई निरन्तरता दिन आफू लागि परेको मन्त्री राईले बताए ।
बुवाखोलामा पुल सम्पन्न भएसँगै अब उदयपुर र खोटाङलाई जोड्न बंसिलामा बेलिब्रिज निर्माण हुनासाथ उदयपुर र खोटाङबीच सिधा यातायात सुरु हुनेछ । यसले दुवै जिल्लालाई व्यापारिक दृष्टिकोणले समेत फाइदा हुने स्थानीयहरुको भनाई छ ।
बंसिलाघाटस्थित सुनकोशी नदीमा एक महिनाभित्र बेलिब्रिज लगाइसक्ने मन्त्री राईको भनाई छ ।








प्रतिक्रिया