१२ असार २०८३, शुक्रबार

प्रतिगामी षडयन्त्रविरुद्ध आज काठमाडौंमा एमालेको जनसभा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले)ले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचलान कार्यक्रमअन्तर्गत आज काठमाडौंमा जनसभाको आयोजना गरेको छ ।

भदौ २३ र २४ गतेको विध्वंसपछि असंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभाको विघटन गरिएको विरोधमा एमालेले कात्तिक २२ गतेदेखि वडा तहबाट जनपरिचालन कार्यक्रम गरिरहेको छ ।

एमालेले प्रतिनिधिसभाको पुनर्स्थापनालाई मुख्य माग राखेर आजको जनसभा आयोजना गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटी मण्डपमा हुनेछ । एमालेका नेता, कार्यकर्ता, जनसंगठन, सम्पर्क समन्वय कमिटीका तर्फबाट निकालिने र्‍याली प्रदर्शनी मार्गमा जम्मा हुनेछ ।

प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुने गौतमले बताए । जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

गत असोज ३१ गते सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले गरेको जनपरिचालनको निर्णय अनुसार कात्तिक २२ गते देशैभरीका वडाहरुमा एमालेले वडा भेला गरेको थियो । २५ गते सबै पालिकाहरुमा पालिकास्तरीय र्‍याली सम्पन्न गरेको छ । कात्तिक २९ गते सबै जिल्लाहरुमा जिल्ला स्तरीय जनसभा आयोजना गरिसकेको छ ।

‘आजको कार्यक्रमपछि पहिलो चरणको जनपरिचालन समापन हुन्छ’ गौतमले भने, ‘यसपछि मंसिर २७ गते ११ औं महाधिवेशन उद्घाटनका क्रममा फेरि काठमाडौंमा विशाल जनसभा गर्नेछौँ ।’

यस बीचमा जिल्ला तथा स्थानीय कमिटीहरुले निर्णय गरेर आफ्नातर्फबाट प्रतिगामी षडयन्त्रका विरुद्ध आन्दोलनका कार्यक्रम गर्नसक्ने एमालेले जनाएको छ ।