
मलंगवा, ५ मंसिर । सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी राम प्रवेश रायका छोरा चार वर्षीय आर्यन राय रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्बरको ट्याक्टरको ट्रलीले किचेर उनको मृत्यु भएको हो । घरमा पार्किङ गर्ने क्रममा ट्रलीमा चढेका बालक त्यहाँबाट खस्दा ट्रलीको चक्काले किचेर उनको मृत्यु भएको हो ।
मृतक बालकको शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
दुर्घटनापछि चालक फरार भएका छन् भने उनको खोजी कार्य भइरहेको छ । यससम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया