
बाजुरा, ४ मंसिर । बाजुराको बुढीनन्दा नगरपालिका कोल्टीबाट राष्ट्रिय परिचयपत्र सेवा पुनः सुचारु गरिएको छ । गत भदौमा वर्षातको समयलाई मध्यनजर गर्दै १ महिनाका लागि राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य सुरु गरिएको भएपनि बीचमा सेवा रोकिएको थियो ।
अबदेखि नियमित रुपमा कोल्टीबाटै सेवा प्रवाह हुनेगरी काम सुचारू गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । माथिल्लो क्षेत्रका नागरिकको सहजताका लागि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका कम्प्युटर अपरेटर नैन रावलले बताए ।
कोल्टीमै सहज रुपमा सेवा पाउँदा नागरिकलाई सदरमुकाम मार्तडी धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । पूर्वी–उत्तरी भेगका चार स्थानीय तहका बासिन्दालाई लक्षित गर्दै सेवा विस्तार गरिएको नगर प्रमुख जनककुमार बोहराले बताए । नागरिकलाई नजिकबाटै सजिलो, सरल र छिटो सेवा उपलब्ध गराउन सेवा सुचारू गरिएको बोहराको भनाइ छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट जिल्लाका लागि थप भएको स्टेशन कोल्टीमा राखेर सेवा प्रवाह सुरु गरिएको हो । प्रशासन कार्यालय बाजुराले यहाँका ४ वटा स्थानीय तहका नागरिकहरुको सहजताका लागि सेवा सुचारु गरेको हो । यो भन्दा अघि मार्तडीमा मात्रै परिचयपत्र विवरण संकलनको स्टेशन रहेको थियो ।
मार्तडीमा मात्रै स्टेसन हुँदा माथिल्लो क्षेत्रका नागरिकले हप्तादिन लगाएर परिचयपत्र बनाउनुपर्ने बाध्यता थियो । अब नियमित कोल्टीबाट परिचयपत्रको काम हुने हुँदा यहाँका नागरिकहरुलाई सहजता मिल्ने भएको हो । कोल्टीबाटै नियमित सेवा प्रवाह सुचारू हुँदा त्यहाँका स्थानीय खुसी भएका छन् ।
माथिल्लो क्षेत्रका नागरिकको लागि कोल्टी उपयुक्त ठाउँ भएकाले यहाँका नागरिकलाई यस सेवाले ठूलो राहत पुग्ने अपेक्षा लिइएको छ । कोल्टीमा सेवा थालिएसँगै दैनिक २० जना नागरिक परिचयपत्र बनाउन आउने गरेको कर्मचारी सन्तोषी विकले बताइन् ।
सेवा लिन आउने अधिकांश नागरिक सेवा प्रवाहबाट खुसी भएको बताउँदै उनले अब नियमित रुपमा माथिल्लो क्षेत्रका नागरिकले सहज रुपमा कोल्टीमै राष्ट्रिय परिचयपत्रको सेवा पाउने जानकारी दिइन् । अब जिल्ला प्रशासन कार्यालय मार्तडी र कोल्टी दुवै स्थानबाट परिचयपत्र सेवा उपलब्ध हुने भएको हो ।
सरकारले अहिले नागरिकता प्रमाणपत्रको विकल्पका रूपमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको हुँदा बाजुरा मात्र नभई देशभरकै प्रशासन कार्यालयमा परिचयपत्र बनाउने सेवाग्राहीको भीड लाग्ने गरेको छ ।








प्रतिक्रिया