काठमाडौं, २४ कार्तिक । नेकपा (एकीकृत समाजवादी) छाडेर एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताएकी छिन् ।
आज एमालेको घर फर्क राष्ट्रिय अभियान मार्फत एमालेमा फर्कँदै झाँक्रीले नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मात्र होइन राष्ट्रिय राजनीतिकै मूल प्रवाह भएको बताइन् । ‘नेकपा एमाले राष्ट्रवादी र देशभक्तलाई संगठित गरेको बलियो र देशभक्त पार्टी हो’, झाँक्रीले भनिन् ।
झाँक्रीले जेनजी आन्दोलनको नाममा भएको आन्दोलन सरकार र एमाले विरुद्ध सुनियोजित षडयन्त्र भएको बताए । जेनजी आन्दोलनको रोटी सेकाएर सबै शक्ति एमाले विरुद्ध लागेका उनको धारणा छ । ‘आज जेनजी आन्दोलन भर्सेज नेकपा एमाले उभिएको छ’, उनले भनिन् ।
एमालेको नर्सरीमा हुर्किएका सबै मानिसहरू आजको राष्ट्रको जिम्मेवारी पुरा गर्नको लागि एक ठाउँमा उभिनु पर्नेमा उनले जोड दिइन् । ‘जेनजी आन्दोलनको स्वामित्व खोज्नेहरूले सिंहदरबार, सर्वोच्च अदालत र संसद् भएन जलेको कुरालाई कसरी जस्टिफाई गर्न सक्छन् ? ज्युँदै मान्छे जलाउँदा ठिक गरे भन्नेहरूका विरुद्ध आज एमाले उभिएको छ’, उनले भनिन् ।
जेनजी आन्दोलनको नाममा पीडित भएकाहरूले आज नेकपा एमालेलाई खोजी रहेका उनको भनाइ छ । नेकपा एमालेका केही नेताहरू बाहिर निस्किएर सुरक्षामा उभिएपछि मानिसहरू बाहिर निस्कन लागेको उनले बताइन् । ‘आज नेकपा एमाले नै जनताको रक्षक शक्ति हो, यो आजको वास्तविकता हो, यो वास्तविकताबाट हामी भाग्न सक्दैनौँ’, उनले भनिन् ।
उनले जेनजी युवाहरूलाई एमालेमा आउन र आह्वान गरिन् । एमालेले सबैलाई पार्टी प्रवेशमा चारै तिरका ढोका खुल्ला गरेको अनुभूत गरेको उनको धारणा थियो । ‘हामीले पार्टीमा पुर्याएको क्षतिलाई पनि पुरा गर्ने गरी पिठ्युँ थापेर लाग्ने छौँ’, उनले भनिन् ।















प्रतिक्रिया