२० असार २०८३, शनिबार

उदयपुरमा एक लाख गाईभैंसीलाई खोरेत रोगविरुद्धको खोप लगाइँदै

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, २३ कात्तिक । पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि उदयपुरमा खोरेत रोगविरुद्धको खोप अभियान थालिएको छ ।

जिल्लाको बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा ताप्ली, लिम्चुङबुङ, रौतामाई र उदयपुरगढी गाउँपालिकामा एकसाथ आज (आइतबार)देखि खोरेत रोगविरुद्ध पशुहरूमा खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले जनाएको छ ।

पशुपालन र दुध उत्पादनमा कृषकहरुलाई व्यावसायिक बनाउन र कृषकलाई दुध उत्पादनको माध्यमबाट आत्मनिर्भर बनाउन खोरेत रोग मुक्त गराउनु अनिवार्य रहेको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले बताए ।

उदयपुरमा ८६ हजार ९ सय ६४ गाईगोरु र ३९ हजार ४ सय तीन राँगाभैंसी रहेको तथ्यांक भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरसँग रहेको केन्द्रका प्रमुख डा. दीपक सिंह कुशवाहाले बताए ।

उदयपुरमा अहिले २ लाख ४ हजार डोज खोरेतविरुद्धको भ्याक्सिन ल्याएको भए पनि पहिलो चरणअन्तर्गत बेलका नगरपालिकामा १७ हजार, चौदण्डीगढी नगरपालिकामा १५ हजार, त्रियुगा नगरपालिकामा २१ र कटारी नगरपालिका १५ हजार तथा ताप्ली गाउँपालिकामा १० हजार ५ सय, लिम्चुङबुङ गाउँपालिकामा ८ हजार, रौतामाई गाउँपालिकामा १० हजार ५ सय र उदयपुरगढी गाउँपालिकामा ५ हजार गरी कुल १ लाख २ हजार डोज खोज भ्याक्सिन अहिले लगाइने केन्द्रका सहायक पाँचौँ मिनप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार अर्को बाँकी रहेको १ लाख २ हजार डोज भ्याक्सिन भने आउने बैशाखमा पुनः लगाइनेछ ।

उदयपुरमा रहेका गाई, गोरु, राँगा र भैंसीमध्ये ८० प्रतिशतलाई मात्र यो भ्याक्सिन लगाइने केन्द्रका प्रमुख डा. कुशवाहाले बताए ।

खोरेत रोग खुरफट्टा जनावरहरू गाई, भैंसी, भेडा, बाख्रा, बंगुरजस्ता जनावरमा एक किसिमको अत्यन्तै छिटो फैलने र मुख्यगरी पशुहरूमा अत्यधिक मात्रामा ज्वरो आउने, र्‍याल काढ्ने, दुध उत्पादन घटाउने, हिँडडुल गर्न गाह्रो हुने, खोच्याउने जस्ता लक्षणहरू देखाउने र धेरै छिटो लामो दुरीसम्म फैलिनसक्ने सीमाविहीनको रोग हो ।

उदयपुरमा खोरेतविरुद्धको खोप लगाउने अभियानको आइतबार बिहानै सबै पालिकाहरुमा पालिका प्रमुख तथा उपप्रमुखहरूले खोप अभियानको उद्घाटन गरेर अभियान सुरु गरेका थिए ।

यो अभियानअन्तर्गतको खोप कार्यक्रम अहिले उदयपुरमा मात्र नभएर कोशी प्रदेशका सबै १४ वटै जिल्लामा सुरु गरिएको छ ।