
विराटनगर, २३ कात्तिक । विराटनगर किंग्सले एनपीएलको नयाँ सिजनका लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ । यो जर्सीले कोशी प्रदेशको गौरव, शक्ति र समुदायको भावना झल्काएको क्लबले जनाएको छ ।
क्लबका अनुसार जर्सीका हरेक विवरणमा हाम्रा विश्वास, संस्कार र विराटनगरको अविचलित भावनाको अर्थ, उद्देश्य र पहिचान समाहित गरिएको छ ।
‘डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह समेट्ने सात रेखाहरू रहेका छन् । यी सात रेखाहरू विशाल सप्तकोशी नदी बन्न एकसाथ मिसिने सातवटा शाखा नदीहरूका प्रतीक हुन् । यी रेखाहरूले एकता, शक्ति र गतिशीलतालाई जनाउँछन् । प्रत्येक नदीको आ–आफ्नै ऊर्जा हुन्छ, तर सबै नदीहरू एकसाथ बग्दा तिनीहरू एक अजेय शक्तिमा रूपान्तरित हुन्छन् । विराटनगर किंग्सको खेल पनि मैदानमा ठीक त्यस्तै हुन्छ । सात नदी । एउटै लय । एकै धड्कन ।’ टिम व्यवस्थापनले भनेको छ ।
जर्सीको काँधमा काँधको साहस अर्थात् एपाउलेट रहेको छ, जसले नेतृत्व र गर्वको संकेत गर्दछ । यो मौन रहन्छ र आदेश होइन, प्रेरणा दिन्छ । ‘यो जर्सी लगाउने प्रत्येक खेलाडीले आफ्नो शहरको सपना र नेतृत्वको जिम्मेवारी बोकेको हुन्छ । किंग्स केवल खेल्दैनन्, चाहे जस्तोसुकै चुनौती अओस्, उनीहरू बेपर्वाह भएर साहस, दृढता र विश्वासको प्रतिनिधित्व गर्छन् ।’ क्लबले भनेको छ ।








प्रतिक्रिया