
–अन्जनी कुमार अधिकारी
उदयपुर, २२ कात्तिक । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नै स्रोतसाधनको प्रयोग गर्दै पालिका भित्रका सम्पूर्ण ग्रामीण सडकको स्तरोन्नतिको कार्य सुरु गरेर छुट्टै उदाहरण प्रस्तुत गरेको छ । नगरपालिकाले अबको बाँकी वर्षलाई ‘भौतिक पूर्वाधार वर्ष’का रूपमा लिँदै आफ्नै बजेटबाट १ वटा रोड रोलर, १ वटा टिपर, र १ वटा जेसिबी खरिद गरी पालिकाभित्रका सडक सुधार अभियानलाई तीव्रता दिएको हो ।
दशवटै वडालाई समेट्दै प्रति वडा करिब ५ किलोमिटरका दरले यस वर्ष झन्डै ५० किलोमिटर ग्रामीण सडक स्तरोन्नतिको लक्ष्य लिइएको नगरप्रमुख कालुमान लामाले जानकारी दिए । उनले ‘गरे के हुन्न ?’ भन्ने भावनासहित पालिकाभित्रको सबै सडकलाई व्यवस्थित र दिगो बनाउन यो अभियान सुरु गरिएको बताए ।
‘जनता हरेक दिन खाल्डाखुल्डी सडकमा हिँड्ने गरेको पीडा मैले महसुस गरेको छु । त्यसैले नगरपालिकाले आफ्नो गक्ष र क्षमताभित्र रहेर सबै सडक सुधार गरेर कालोपत्रे गर्न तयारी अवस्थामा पुर्याउने संकल्प लिएको छ,’ नगरप्रमुख लामाले भने ।
नगर योजना आयोगका उपाध्यक्ष किशोर ताम्रकारका अनुसार, पालिकाले खरिद गरेका उपकरणहरु रोड रोलर, टिपर, जेसिबी र पानी ट्यांकर वडाहरूलाई उपलब्ध गराइएका छन् । वडाले तेलको व्यवस्था गरी खोलाको गिट्टी प्रयोग गर्दै रोड रोलरमार्फत सडक सम्याउने कार्य सुरु भएको छ, यो कार्य नगरको दशवटै वडामा गरिनेछ ।
नगरपालिकाले आफ्नै लगानीमा यसरी ग्रामीण सडक सुधार सुरु गरेपछि स्थानीयहरूमा उत्साह र खुसी छाएको छ ।
चौदण्डीगढी नगरपालिका–२ का डम्बरबहादुर खड्काले भने, ‘पहिला १०–२० लाखको बजेट आएको सुनिन्थ्यो, तर बाटोमा गिट्टी छरेर पैसा सकिन्थ्यो । अहिले भने पालिकाले आफ्नै स्रोत प्रयोग गरेर सडक स्तरोन्नति गरेको देख्दा अचम्म र गर्व लाग्यो ।’
स्थानीयहरुका अनुसार, चौदण्डीगढी नगरपालिकाले सीमित स्रोतसाधनबाट यसरी ग्रामीण सडक सुधारको काम अघि बढाएसँगै इच्छा र प्रतिबद्धता भए ‘विकास सम्भव छ, ढिलो होइन द्रुत गति’मा भन्ने उदाहरण पेश भएको छ ।








प्रतिक्रिया