४ श्रावण २०८३, सोमबार

जनपरिचालन अभियानलाई सशक्त बनाउन ढकालको निर्देशन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कार्तिक । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीले सञ्चालन गरेको जनपरिचालन अभियानलाई सशक्त बनाउँदै संगठन सुदृढीकरणतर्फ अघि बढ्न निर्देशन दिएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ढकालले पार्टीको जनपरिचालनलाई जनस्तरसम्म प्रभावकारी ढंगले पुर्‍याउन सबै जनसंगठनबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

“हामीले जनपरिचालनलाई संगठन सुदृढीकरणको मुख्य अभियानका रूपमा अघि बढाउनुपर्छ,” उनले भने, “जनसंगठनहरूबीचको समन्वय, एकता र सहकार्यबाट मात्र पार्टीलाई अझ सबल र जनमुखी बनाउन सकिन्छ।”

ढकालले पार्टीको आसन्न ११औं राष्ट्रिय महाधिवेशन तयारीका विषयमा समेत जानकारी दिँदै जनसंगठनहरूले महाधिवेशन सफल बनाउन आफ्नो भूमिका थप सक्रिय बनाउने विश्वास व्यक्त गरे ।

बैठकमा विभिन्न जनसंगठनका प्रमुख, संयन्त्रका सदस्यहरू र जिम्मेवार नेताहरूले पार्टी अभियानका विषयमा सुझाव र धारणा राखेका थिए । बैठकले जनपरिचालनलाई प्रभावकारी बनाउन र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ ।