२८ असार २०८३, आइतबार

धनुषाको जटही नाका १२ घण्टा बन्द, दुवै देशतर्फ सुरक्षाकर्मी तैनाथ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ ।

आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि नाका पूर्णरूपमा बन्द गरिएको हो । भारतीय प्रशासनको आग्रहमा नेपालतर्फको सुरक्षा निकायले सीमा क्षेत्रमा कडा निगरानी र चेकजाँच गरिरहेको छ ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न र मतदान प्रक्रियालाई सुरक्षित बनाउन दुवै देशका सुरक्षाकर्मी सीमा क्षेत्रमा उच्च सतर्कताका साथ खटिएका छन् ।

नेपालतर्फ सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ सशस्त्र सीमा बल (एसएसबी) र बिहार प्रहरीले संयुक्तरूपमा गस्ती र जाँचलाई तीव्र पारेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले निर्वाचन अवधिभर सीमा क्षेत्रमा शंकास्पद गतिविधि रोक्न चेकजाँच र निगरानीलाई अझ कडा बनाइएको बताए ।

सीमा बन्द हुँदा दुवैतर्फका सवारीसाधन, पैदलयात्री, स्थानीय व्यापारी तथा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकहरूलाई असहज भएको छ । जटही नाका दैनिकरूपमा नेपाल–भारतबीचको व्यापार, आवागमन र आपूर्ति शृंखलाको महत्त्वपूर्ण मार्ग हो । बन्दका कारण दुवैतर्फ सयौँ सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । तरकारी, फलफूल, दैनिक उपभोग्य वस्तुको ढुवानी पनि प्रभावित भएको छ ।