
काठमाडौं, १९ कात्तिक । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी आन्दोलन कमजोर हुँदा नेपालमा थप बलियो भएको बताएका छन् ।
चीनको बेइजिङमा नोभेम्बर ३ र ४ मा आयोजना गरिएको ‘द क्रस रोड अफ वल्र्ड हिस्ट्री एण्ड द च्वाइस अफ पिपुल अफ अल नेसन्स’सम्बन्धी १५औं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता रिजालले यस्तो बताएका हुन् । उनले एमालेले आफ्ना पूर्वमहासचिव मदन भण्डारीले प्रतिपादन गरेको नेपाली विशेषताको समाजवाद जनताको बहुदलीय जनवाद (जबज)का कारण समाजवादी आन्दोलन थप सशक्त बनेको बताए ।
‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अघि सार्नु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाको आलोकमा नेपालमा समाजवादी आन्दोलन थप बलियो बनेको हो’ रिजालले सम्मेलनलाई सम्बोधन गर्दै भने ।

३३ वटा देशका करिब ३ सय प्रतिनिधि सहभागी सम्मेलनमा रिजालले नेपालमा हालै भएको जेनजी आन्दोलन र यसका कारण र असरका बारेमा पनि स्पष्ट पारे ।
रिजालले जेनजी आन्दोलनमा भएको आगलागी, हिंसा, व्यक्तिगत तथा सरकारी भवनमा आगजनी गर्ने काममा विदेशी प्रतिक्रियावादीहरुको षडयन्त्र रहेको बताए । उनले खासगरी एमालेको नेतृत्वमा रहेको सरकारलाई विस्थापन गर्न गरिएका अनेक प्रयास सफल नभएपछि जेनजीलाई प्रयोग गरेर हिंसा र विध्वंस मच्चाइएको बताए ।
‘जेनजी आन्दोलनका नाममा हिंसा, तोडफोड, आगजनी मच्चाएर एमाले नेतृत्वको सरकारलाई विस्थापन गरिएको छ’ रिजालले सम्मेलनलाई सम्बोधन गर्दै भने ‘आन्दोलनपछि बनेको सरकार अलोकतान्त्रिक र गैरसंवैधानिक छ ।’
रिजालले पुँजीवाद र साम्राज्यवादका विरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने उल्लेख गरे । यो काम चुनौतिपूर्ण भए पनि सर्वहारा वर्गको हितका लागि अनिवार्य भएको रिजालको भनाइ थियो ।
पाटी अध्यक्ष केपी शर्मा ओलीको भनाई उद्दृत गर्दै रिजालले नेपालले जनताको समृद्धि र खुशीलाई नै समाजवादको अन्तिम लक्ष्य राखिएको बताए । उनले नेपालमा संविधानमाधि धावा बोलिएको सन्दर्भमा त्यसलाई सही लिकमा फर्काउनका लागि एमालेले शान्तिपूर्ण आन्दोलन र जनपरिचालनका कार्यक्रम अघि सारेको विश्व समुदायलाई जानकारी गराएका छन् ।








प्रतिक्रिया