
काठमाडौं, १७ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूहरु नेकपा (एमाले)मा फर्कने सम्भावना रहेको संकेत गरेका छन् । त्यसका लागि खनालले समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने शर्त राखेका छन् ।
‘एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्वन गर्नुपर्छ । जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रुपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ ।’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले भने ।
खनालले एमालेसँग एकता नभए पनि नयाँ बाटोमा अघि बढ्न आफू तयार रहेको बताए । ‘हामी नयाँ ढंगले पुनर्गठित हुँदैछौँ । नयाँ पार्टी निर्माण गर्नु अवश्यम्भावी छ,’ उनले भने । हालैको एक भेलाले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले भने, ‘त्यसबाट नयाँ पार्टी, घोषणा पत्र, कार्यक्रम र विधान तयार पार्ने सोच सुरु गरेका छौँ ।’
नेता खनालले देशको वर्तमान राजनीतिक संकटबारे निर्वाचन पहिलो विकल्प नभएको भन्दै संसद पुनःस्थापनाको बाटो उपयुक्त हुने बताए ।
‘मुलुकमा विद्यमान संकट समाधानका लागि निर्वाचन पहिलो विकल्प होइन । मुलुकलाई संवैधानिक बाटोबाट अघि बढाउनका लागि निर्वाचन नभए संसद पुनःस्थापनाको बाटो उपयुक्त हुन्छ,’ खनालले भने । सडक आन्दोलनभन्दा संवैधानिक प्रक्रियाबाट निकाश खोज्नुपर्ने खनालको भनाइ छ ।









प्रतिक्रिया