२९ असार २०८३, सोमबार

वायु सेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार (कात्तिक १६) निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ । अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन । कतिसम्मको बेथिति हो यो ?“

कुनै समय गौरव गर्न लायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देश गरिन् ।

यस्तै, हालसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरू सुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ ।

कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री कार्कीले निगमको अहिलेको अवस्था धनाढ्यको बिग्रेको घरसँग तुलना गर्दै भनिन्, “हेर्दाखेरि सबैथोक छ तर भित्र दर्दनाक अवस्था छ । नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो । त्यो पनि छैन ।“

प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिइन् । “राजनीतिक मान्छेहरूले दबाब दिन्छन् । तपाईंहरू किन खुरुखुरु त्यस्तो दबाब मान्ने ? भोलि कारबाहीमा पर्ने त तपाईंहरू हो नि,“ प्रधानमन्त्री कार्कीको भनाइ थियो, “तपाईंहरू विधिसम्मत तरिकाले चल्ने हो भने कसैले पनि कारबाही गर्दैन । राम्रो काम गर्दा अख्तियारसँग पनि डराउनुपर्दैन । अख्तियारलाई बहाना बनाएर हात बाँधेर पनि नबस्नुहोस् ।“

निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि प्रधानमन्त्रीले प्रश्न उठाइन् । “यो घाटा त जनताले बेहोरेको घाटा हो नि,“ उनले भनिन्, “अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ । अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ ।“