
काठमाडौं, १६ कात्तिक । डा. निकोलश भुसालले अराजक र हिंसा भड्काउ अभिव्यक्ति दिएपछि प्रहरीले निगरानीमा राखेको छ । हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका हुन् ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएका छन् । भुसालले शनिवार सम्वाद डबलीमा पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ उनले गत भदौ २३ गते जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिए ।
उनीहरुलाई सरकारले कारबाही नगरे आफूहरु नै कारबाहीका लागि अगाडि सर्ने समेत बताए । ‘कारबाही’का लागि आफूहरु ओली र लेखकको घर जाने उनले बताएका छन् ।
सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही नगरेको भन्दै भुसाल हालका प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालविरुद्ध पनि खनिए । उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ भनेर टिप्पणी गरेका छन् ।
साथै उनले आफूमाथि कारबाही गर्न सरकारलाई चुनौतिसमेत दिएका छन् । अपशब्द प्रयोग गर्दै उनले गृहमन्त्री अर्याललाई भनेका छन्, ‘हे गृहमन्त्री तैले कारबाही गर्न सक्छस् भने गर् मेरै गाउँको होस् तँ पनि । खास त रेस्पेक्ट गरेर भेना भन्नुपर्ने हो त्यही पनि तँ भन्न बाध्य छु ।’
उनी यतिमै रोकिँदैनन् । उनले आफूले बालुवाटार माथि मिसाइल राखेको समेत बताएका छन् । त्यसबाट कोही नबच्ने भन्दै धम्की दिएका छन् ।
वर्तमन सरकारले दलहरूलाई बोलाएर छलफल राखेकोमा पनि उनले विरोध गरेका छन् ।








प्रतिक्रिया