काठमाडौं, १५ कात्तिक । आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ ।
आज पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा निर्वाचन अघि वा पछि महाधिवेशन गर्ने भन्ने विषयमा एकमत बन्न नसकेपछि बैठक बिना नतिजा सकिएको हो ।
बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूबीच मतभेद क्रमशः घट्दै गएको र सहमतिको नजिक पुगेको जानकारी दिए । ‘पदाधिकारी बैठकमा केन्द्रीय समितिको छलफललाई कसरी सर्वसम्मत निष्कर्षमा पु¥याउने भन्नेबारे चर्चा केन्द्रित भयो,’ महतले भने, ‘हामी धेरै नजिक पुगेका छौं, अन्ततः समान दृष्टिकोणबाट निष्कर्ष निकालिनेछ भन्ने विश्वास छ ।’
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टीभित्र दुई धार देखिएका छन् । संस्थापन पक्षले आम निर्वाचनपछि, आगामी वैशाखतिर महाधिवेशन गर्न उपयुक्त हुने अडान लिएको छ भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचनअघि नै विशेष या नियमित महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् ।
यही मतभेदका कारण जारी कांग्रेस केन्द्रीय समितिको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ ।








प्रतिक्रिया