
काठमाडौं, १४ कात्तिक । धोबिखोला करिडोरदेखि वाग्मती आसपासका अवैध संरचना हटाइने भएको छ । काठमाडौं उपत्यका प्राधिकरणका अनुसार धोबीखोला, वाग्मती नदी आसपासमा सार्वजनिक जग्गामा संरचना बनाएर अवैधरूपमा बसेकाहरूलाई हटाउन लागिएको हो ।
लामो समयदेखि मौखिकरूपमा त्यस्ता संरचना बनाएर बसेकाहरूलाई हट्न भनिए पनि सुनुवाइ नभएपछि सातदिने अल्टिमेटम दिइएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन् । उनका अनुसार, त्यसरी सार्वजनिक जग्गा हडपेकाहरूले निर्धारित समयमै खाली नगराए बल प्रयोग गरेर हटाइनेछ ।
“जुन हामीले गर्न खोजेको धोबिखोला, वाग्मती नदी आसपास हो । जहाँ सार्वजनिक जग्गा हडपेर संरचनाहरू बनाइएका छन्, त्यहाँ खाली गर्नू भनिएको हो । जसले अतिक्रमण गर्नुभएको छ, सात दिनभित्र खाली गर्न भनेका छौँ,“ उनले भनिन् ।
उनका अनुसार, थापाथलीको सुकुम्वासी बस्तीलाई भने अहिले नै हटाउने योजना छैन । “सुकुम्वासीकालाई यो सूचना जारी गरिएको होइन । सुकुम्वासी समस्या अर्कै समस्या हो । यसको समाधान खोजेरमात्रै हटाउनुपर्छ,“ उनले भनिन् ।
काठमाडौं विकास प्राधिकरण र काठमाडौं महानगरले आज सूचना जारी गरेर अवैध संरचना हटाउन सातदिने अल्टिमेटम जारी गरेको थियो । अतिक्रमित जग्गा तथा मापदण्डविपरीतका संरचना खाली गर्न जारी गरिएको सूचनामा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकबाट निर्णय भएको उल्लेख गरिएको छ ।








प्रतिक्रिया