२ श्रावण २०८३, शनिबार

लमजुङमा प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार, चौतारीद्वारा घटनाको निन्दा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १४ कात्तिक । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा प्रहार भएको छ ।

लमजुङको सदरमुकाम बेशीसहरस्थित पाण्डेको घरमा कात्तिक १३ गते राति करिब १२ बजे अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका हुन् ।

ढुंगा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् भने अध्यक्ष पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको बताइएको छ । घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन् ।

घटनापछि प्रेस चौतारी नेपालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य हो ।”

भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्वान गरिनु र गएराति आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित भएको संगठनका महासचिव हिरामान लामाले बताए । चौतारीले यसलाई योजनाबद्ध र षड्यन्त्रपूर्वक गरिएको आक्रमण भनेको छ ।

महासचिव लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास सफल हुन सक्दैन ।” चौतारीले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीहरूलाई कानूनी कठघरामा उभ्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।