५ असार २०८३, शुक्रबार

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : २०० घरपरिवार लाभान्वित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ११ कात्तिक । मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधी ३० मिनेटमा छोटिएको छ ।

मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलब पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको उपभोक्ता समितिका अध्यक्ष सविता रोकाले बताइन् ।

“धापुङ्ग र महेशका बासिन्दालाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ,” उनले भनिन्, “बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।”

कुल ५७ लाख १० हजार आठ सय ६० रुपैयाँ लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट एक सय ९३ घरपरिवार लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ । उपभोक्ताले ६४ हजार नौ सय ६१ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

११ लाख ६६ हजार चार सय २४ रुपैयाँमा स्टिल पार्ट्स खरिद र उपभोक्ता समितिलाई ३१ लाख ८३ हजार ९१ रुपैयाँ भुक्तानी भएको छ । पुलको सोमबार प्रतिनिधिसभाका निवर्तमान सदस्य तथा पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजाले उद्घाटन गरे । झोलुङ्गे पुल निर्माण भएकोमा स्थानीयवासीहरुले नाचगान गरेर खुसीयाली मनाएका छन् ।