१९ असार २०८३, शुक्रबार

माओवादी केन्द्रमा भ्रष्टाचार छ : जेनजी रेडफोर्स संयोजक तिमिल्सिना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । नेकपा (माओवादी केन्द्र)निकट ‘जेनजी रेडफोर्स’ संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छन् । जेनजी रेडफोर्सका एजेन्डा सार्वजानिक गर्न आइतबार  आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् ।

उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गरिन् । सरकारले त्यसको छानबिन गर्नुपर्नेमा उनले जोड दिइन् । छानबिनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्षकमल दाहाल ‘प्रचण्ड’लाई पनि जेल हाल्नुपर्ने उनको भनाइ थियो ।

“माओवादी केन्द्रमा भ्रष्टाचार नै छैन भन्दिनँ म । भ्रष्टाचार छ, त्यो भ्रष्टाचारलाई यो सरकारले छानोस् र गल्ती देखिएको खण्डमा उनीहरूलाई, दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डर (प्रचण्ड)लाई पनि तपाईंहरूले जेल हाल्न सक्नुहुन्छ, यदि उहाँ दोषी देखिनुहुन्छ भने,” उनले भनिन् ।

उनले रेडफोर्सले भ्रष्टाचारविरुद्ध शंखनाद गरेर आवाज उठाउने बताइन् । रेडफोर्सले देशमा कुनै पनि भ्रष्टाचार नसहने उनले सुनाइन् । “रेडफोर्स भ्रष्टाचारविरुद्ध शंखनाथ गरेर आवाज उठाउँछ,” उनले भनिन्, “रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन ।”

उनले अब देश जेनजी रेडफोर्सले मात्र बनाउने जिकिर गरिन् । जेनजी रेडफोर्स माओवादीको मात्र नभएको उनले बताइन् । नेपालभरिका वामपन्थी, कम्युनिस्ट विचारधारा मन पराउने सबैलाई यसमा जोडिन उनले आग्रह गरिन् ।

जेनजी रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञबाट मन्त्रिपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने, सबै भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व तथा पदाधिकारी खुला प्रतिस्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरूको सम्पत्ति छानबिन, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही, बन्द अवस्थामा रहेका उद्योग, कलकारखाना सञ्चालन गर्नुपर्नेलगायत माग अगाडि सारेको छ ।