२ श्रावण २०८३, शनिबार

‘संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो’

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, ८ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या परेको बताएका छन् ।

नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, शहरी विकास, खानेपानी लगायत जनतासँग प्रत्यक्ष जोडिएका आयोजनामा विनियोजित बजेट संघीय सरकारले रोक्का गरेकाले काम अघि बढ्न नसकेको बताए ।

मुख्यमन्त्री आचार्यले भने, ‘संघीय सरकारले बजेट रोक्का गर्दा शहरी विकास, खानेपानी, सडकका कामहरू रोकिएका छन् । आज काम नगर्ने भनिएको छ । अर्घाखाँची जिल्लाको विकासको गति अहिलेको संघीय सरकारले कहाँ पुर्‍याउँदैछ ? देशको विकास के हुँदैछ ? यो विषयमा जवाफदेहीता हुनुपर्छ कि पर्दैन ?’

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट अर्घाखाँची जिल्लामा धेरै कामहरू भइरहेको उल्लेख गर्दै भावी दिनमा उपलब्ध साधन स्रोतको सदुपयोग गरी जनताको आकांक्षा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले केही व्यक्तिहरूले सरकारी कार्यालयहरूमा पुगेर धम्कीपूर्ण व्यवहार देखाउने जस्ता अराजक गतिविधि गरिरहेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

मुख्यमन्त्री आचार्यले भने, ‘निश्चित व्यक्तिका समूहहरू आज कार्यालय–कार्यालय गएर कर्मचारीलाई तेजोवध गर्ने शैलीमा धम्क्याउने र थर्काउने काम भइरहेको छ । अबिलम्ब त्यसलाई रोक्न निर्देशन दिन चाहन्छु । यस्तो गर्न कसैलाई पनि छुट छैन । कर्मचारीको मनोबल घटाउने अधिकार कसैलाई पनि छैन । यो कार्य तुरुन्त रोकिनु आवश्यक छ ।’ उनले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे ।

मुख्यमन्त्री आचार्यले कात्तिक १० गते एमाले अर्घाखाँचीले संविधान संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि सद्भाव र्‍यालीको आयोजना गर्न लागेको जानकारी दिँदै कार्यक्रममा सबैलाई सहभागी हुन आह्वान गरे ।

कार्यक्रम एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता तथा मुख्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ठाकुरकुमार विक (किशोर), राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।