२२ जेष्ठ २०८३, शुक्रबार

सम्पत्ति छानबिन गरेर देखाउन पूर्वऊर्जा मन्त्री खड्काको चुनौती

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काले आफूमाथि उठेका विषयमा छानबिन गर्न चुनौती दिएका छन् । अहिलेको सरकारमा रहेका र यसअघिका सरकारहरूमा रहेकाहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने उनको माग छ ।

“म माथि उठेका विषयमा छानबिन गरे भयो । निष्पक्ष छानबिन होस्, म सहयोग गर्न तयार छु,” सामाजिक सञ्जालमार्फत उनले भने, “हामी कानुनी राज्यमा विश्वास गर्ने व्यक्ति हौँ । छानबिन होस्, म सहयोग गर्न तयार छु ।”

आफूसँगै अरू व्यक्तिको पनि छानबिन हुनुपर्ने उनको माग छ । अहिले सरकारमा रहेका र त्यसअघिका सरकारहरूमा रहेका व्यक्तिको पनि सम्पत्ति छानबिन गर्न खड्काले माग गरे ।

आफू भागेर अमेरिका गएको भन्ने भ्रम सञ्चारमाध्यमले छरेको भन्दै उनले आपत्ति जनाए । श्रीमतीलाई डेंगु भएपछि उपचारका लागि भारत भएको र उनीहरू अहिले पनि मेदान्त अस्पतालमा रहेको उनले प्रष्ट पारे ।

आफूले पैतृक सम्पत्ति पनि नलिएको र आफैँले कमाएर अहिलेको अवस्थामा आएको उनले बताए । “मैले चार कक्षा पढ्दादेखि आफैँ खर्च जुटाएर पढेको हुँ । मेरो बुवाआमा जिउँदै हुनुहुन्छ सोधे हुन्छ,” उनले भने, “पैतृक सम्पत्ति लिएको छैन । घर जल्यो, उमेर छ, फेरि कमाऔंला । तर, घर जलेपछि परिवार भने ट्रमामा गयो ।”

सम्पत्ति शुद्धीकरणले आफूविरुद्ध अनुसन्धान सुरु गरेकोबारे आफूलाई जानकारी नरहेको र यसबारे सरकारको पत्र पनि प्राप्त नभएको उनले प्रष्ट पारे ।