३१ जेष्ठ २०८३, आइतबार

नर्सहरूका माग पूरा गर्न सातै प्रदेशमा कार्यदल गठन 

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । पारिश्रमिकका लागि संघर्षरत नर्सहरूको समस्याको सम्बोधन गर्न सरकारले सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको आइतबार बसेको पहिलो बैठकले यो निर्णय गरेको हो ।

नेपाल नर्सिङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्स प्रतिनिधि समेतको कार्यदल सातवटै प्रदेशमा गठन गर्ने र उक्त कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेस गर्ने निर्णय भएको समितिका सदस्य डा. अनुप बास्तोलाले जानकारी दिए ।

मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुखसमेत रहेका डा. बास्तोलाका अनुसार सो कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै कार्य गर्न सक्नेछ । प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयबाट नर्सिङ स्वास्थ्यकर्मीहरुको सेवा, सुविधालगायत विषयमा अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन सात दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरेकी थिइन् ।

आइतबार नै समितिको पहिलो बैठक बसी तिहार बिदाका अवधिमा भर्चुअल माध्यमबाटै भए पनि अध्ययनको काम अघि बढाउने गरी सातै प्रदेशमा कार्यदल बनाउने निर्णय गरेको हो ।

समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बोलाइएको छ । उक्त बैठकमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्ससहित निजी क्षेत्रका प्रतिनिधिलाई पनि अनिवार्य उपस्थित हुन समितिले भनेको छ ।

समितिले दिएको कार्ययोजनासहितको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरिनेछ ।