७ असार २०८३, आइतबार

यस्तो रहनेछ तिहारमा मौसम

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहनेछ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ ।

तिहारको समयमा पहाडी भू–भागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कात्तिक ४ गते देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

कात्तिक ५ गते देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कात्तिक ६ गते भाइटीकाका दिन कोशी र मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।