५ असार २०८३, शुक्रबार

सर्लाहीमा खोलाले बगाएकी बालिका ३ दिनदेखि बेपत्ता, खोजी गर्दै गोताखोर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, १ कात्तिक । तीन दिनदेखि मनुष्मारा खोलामा डुबेर बेपत्ता धनकौल गाउँपालिका–३, हरकठवाकी ११ वर्षीया बालिका सोनीकुमारी साहको उद्धारका लागि सशस्त्रको गोताखोरसहितको टोली खटिएको छ ।

हिजो साँझ अबेरसम्म खोजी गर्दा अवस्था पत्ता नलागेपछि आज बिहानैदेखि पुनः गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजी कार्य जारी राखेको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी निरन्जन भट्टराईका अनुसार सोनी बिहीबार बिहान आमासँग लुगा धुन र नुहाउन गाउँ नजिकको उक्त खोलातिर गएकी थिइन् । बिहान करिब १० बजे खोलामा पुगेकी उनी दिउँसो १२ बजेतिर नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी हुन् ।

बालिकाकी आमा जयकुमारी साहका अनुसार आफू लुगा सुकाउन राखेको कपडा लिन किनारतिर पुगेको बेला छोरी खोलामा डुबेको देखेकी थिइन् । तत्काल उद्धारको प्रयास गरे पनि सफल हुन नसकेको उनले बताइन् ।

स्थानीय र प्रहरीले खोजी गरे पनि केही पत्ता नलागेपछि शुक्रबारदेखि सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोली परिचालन गरिएको हो ।

महोत्तरीको बर्दीबासबाट आएको नौ सदस्यीय टोली आज (शनिबार) बिहानैदेखि घटनास्थलमा खटिएर खोजी कार्य गरिरहेको छ । सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर खत्रीका अनुसार शनिबार बिहानदेखि घटनास्थलदेखि करिब ७ सय मिटर तल महिनाथपुरस्थित पुलसम्म खोजी गरिए पनि बालिकाको अवस्था पत्ता लागेको छैन ।

उनका अनुसार हालसम्म केही सुराकी भेटिएको छैन । उनले भने, ‘अब डुङ्गाको सहायतामा खोलाको गहिराइ र आसपासका क्षेत्रमा खोजिनेछ ।’