९ असार २०८३, मंगलबार

बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १ कात्तिक । बाजुराको बुढीगंगा नगरपालिकाले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने निर्णय गरेको छ ।

४९औं कार्यपालिका बैठकले नगरपालिकामा झण्डै एक सय बढी अस्थायी कर्मचारीको कात्तिक १ गतेदेखि म्याद थप नगर्ने निर्णय गरेको हो । पालिकाले संघीय सरकार र प्रदेश सरकारको ऐन अनुसार पालिकामा कार्यरत अस्थायी कर्मचारीको म्याद थप नगर्ने, जेनजी आन्दोलनमा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने लगायतका निर्णय गरेको नगरप्रमुख रामबहादुर बानियाँले बताए ।

प्रदेशको ऐनलाई ग्रहण गरेर आफूहरुले करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउन बाध्य भएको नगरप्रमुख बाँनियाको भनाइ छ । हालको अन्तिरिम सरकारले पनि कुनै कर्मचारी भर्ना नगर्न समेत परिपत्र गरेको र प्रदेशको ऐन कार्यान्वयन गरिएको प्रतिक्रिया दिएका छन् ।

प्रदेशले ल्याएको ऐनमा त्रुटी भएकाले यसलाई सच्याउन समेत उनले आग्रह गरेका छन् । अबबाट लोकसेवालाई कर्मचारी माग्ने गरी नगर सरकार अघि बढ्ने बताएका हुन् । नगरपालिकामा विशेषगरी स्वास्थ्य संस्थामा रहेका कर्मचारी बढी हटेका छन् ।

पालिकाका १० वटै वडाका कर्मचारीलाई हटाउने निर्णय गरेपछि कामकाजमा केही समस्या हुने भएको छ । तर पनि स्थायी दरबन्दी भएका कर्मचारीबाट नियमित रूपमा सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।