
बर्दिया, ३१ असोज । बिहिबार दिउँसो नेपालको सीमा नजिक भारतमा भेटिएको शव नेपाली युवाको भएको खुलेको छ ।
भारतको बहराईच जिल्ला मोतिपुर थानाअन्तर्गत बलैगाउँमा भेटिएको शव बर्दिया बाँसगढी नगरपालिका वडा नं. ५ रामपुर बस्ने २० वर्षीय दिनेश सुनारको रहेको नेपाल प्रहरीले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार उनी गत मंगलबार धनगढी जान घरबाट हिँडेका थिए । बिहीबार नेपाली मुलको जस्तो देखिने युवाको शव नेपाल भारत सीमावर्ती क्षेत्रमा फेला परेको खबर फैलिएको थियो ।
घटनास्थलको अवस्था हेर्दा चप्पलको सिरानी हालेर सुतेको र मुखबाट फिँज निकालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर मल्लले बताए ।
युवक कसरी त्यस स्थानमा पुगे र कसरी मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको पोष्टमार्टमका लागि भारतको बहराइच लगिएको छ । पोष्टमार्टम पश्चात् युवकको शव आफन्तको जिम्मा लगाइनेछ । युवकको परिवारका सदस्यहरू बिहीबार नै बहराइच पुगेका छन् ।








प्रतिक्रिया