४ असार २०८३, बिहिबार

पूर्वसभामुख महरामाथि थुनछेक बहस आज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् ।

सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता पनि भएको थियो ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले ल्याएका दुई वटा सुटकेशमा शंका लागेपछि जाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हानसोङले पर्सिपल्टै काठमाडौं छाडेका थिए । भेप भने लामो समयसम्म भन्सारमै थन्किएको थियो ।

भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, कृष्ण बहादुर महराका छोरा राहुल र नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो ।

पूर्वसभामुख महरा संलग्न रहेको भनिएको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।