३१ असार २०८३, बुधबार

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २५ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते हुने भएको छ ।

असोज २३ बाट सुरु भएको केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् कार्यसम्पादन समितिको बैठक आज सम्पन्न भए पनि केही तयारी आवश्यक भएकाले निर्धारित समयभन्दा दुई दिनपछि बैठक सारिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

“हालको बैठकमा महत्त्वपूर्ण विषयमा छलफल भएको छ । भदौ २३ र २४ को घटनाले राष्ट्रिय राजनीतिसँगै पार्टीको जीवनमा समेत अत्यन्तै प्रभाव पारेको विषयमा गम्भीरताका साथ छलफल भयो । घोषित निर्वाचन र संसद् पुनःस्थापनाका विषयमासमेत छलफल भएको छ”, उनले भने, “पार्टी महाधिवेशन पनि विधिसम्मत रूपमा प्रक्रिया पुर्‍याएर युवाहरूलाई समेटेर गर्ने विषयमा समेत केन्द्रीय कार्यसमितिमा छलफल गर्ने तय भएको छ । निर्वाचनका सन्दर्भमा सरकारले गम्भीरताका साथ काम गर्न सकेको छैन भन्ने हाम्रो बुझाइ छ । निर्वाचनका सन्दर्भमा अन्योलता धेरै छन् ।”

पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन बैठकले दिएको परामर्शलाई सभापतिसँग छलफल गरेर पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तय गरिने पनि प्रवक्ता डा. महतले बताए ।